Header Ads

सेयर शिक्षा भाग:७ डिम्याट खाता के हो ? यो खाता कसरि खोल्न सकिन्छ ?


नयाँ लगानीकर्ताहरुलाई सेयर र सेयर बजारको ज्ञान दिने क्रममा सेयर शिक्षा भाग ६ मा मैले नेटवर्थ भनेको के हो र सेयरको मुल्य समायोजन कसरी गरिन्छ भन्ने बारेमा जानकारी गराएको थिए । मलाई आसा छ भाग ६ पढेर नेटवर्थ र मुल्य समायोजनको बारेमा हजुरहरुले धेरै जानकारी प्राप्त गर्नु भयो । आज म सेयर शिक्षा भाग ७ मा डिम्याट खाता र यो खाता खोल्ने तरीकाको बारेमा जानकारी दिन गइरहेको छु ।

जब धितोपत्र बोर्डले २०७३ साल श्रावण १ गतेदेखि काठमाडौ उपत्यकाभित्र र २०७३ साल माघ १ गतेदेखि देशभरिनै सार्वजनिक निष्कासनमा सेयर आवेदन गर्ने आवेदकले दर्खास्त फारममा अनिवार्य रूपमा डिम्याट खाता उल्लेख गर्नु पर्ने र सोही खातामा बाँडफाँड भएको सेयर जम्मा गर्नुपर्ने  व्यवस्था गर्यो । त्यसपछि सेयर लगानीकर्ताहरु बीचमा यो खाताबारे चर्चा हुदै आइरहेको छ । अहिले धेरै लगानीकर्ता सेयरबजार प्रती आकर्षित भएकाछ्न । त्यस्ता नयाँ लगानीकर्ता जो सेयरबजारमा प्रवेश गर्ने सोचमा हुनु हुन्छ उहाँहरु जस्ता नवप्रवेशी लगानीकर्तालाई डिम्याट खाताको बारेमा जानकारी नहुन सक्दछ । त्यस्ता लगानी कर्तालाई लक्षित गरि यो भागमा केन्द्रिय निक्षेप प्रणाली र डिम्याट खाताको बारेमा जानकारी दिने कोशिश गरेकोछु ।

डिम्याट खाताको बारेमा जानकारी लिनु अगाडि डिम्याट खाता संचालन गर्ने कम्पनी केन्द्रिय निक्षेप प्रणालीको बारेमा जानकारी हुनु पर्दछ ।

केन्द्रिय निक्षेप प्रणाली भनेको के हो ?
केन्द्रिय निक्षेप प्रणाली अर्थात सिडिएस सेयरको बैंकहो । यसले भौतिक तथा अभौतिक रूपमा धितोपत्र धारण गरि किताबी प्रबिष्टि मार्फत हकहस्तान्तरण कार्य सम्भव बनाउँदछ । केन्द्रिय निक्षेपले धितोपत्र बजारमा सुचिकृत भएका तथा बिधुतीय माध्यममा निक्षेप गर्न मिल्ने वितरण वा बाँडफाँड भएका धितोपत्र सम्बन्धित धितोपत्र धनिबाट आफ्नो जिम्मामा लिइ धितोपत्र धनिहरुको धितोपत्र सम्बन्धित डिम्याट खाता खोल्ने तथा धितोपत्र वा उपकरणहरुको नामसारी वा खातामा अभिलेख गर्ने कम्पनी हो ।

अब लागौ डिम्याट र डिम्याट खाताको जानकारी लिन
डिम्याट  भनेको के हो ?
   डिम्याट भनेको कागजीरूपमा रहेको  भौतिक सेयर प्रमाणपत्रहरुलाई विधुतीय प्रणालीमा अभिलेख राख्ने कार्य हो ।   अर्थात भौतिकरूपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक ( इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो ।
सेयर बजारमा प्रचलनमा रहेको कागजी प्रक्रिया र सो बाट उत्पदन हुने असुरक्षालाई व्यवस्थित गर्न सेयर प्रमाणपत्रलाई डिम्याट गरिन्छ । डिम्याटको सुरुवात सँगै सेयर कारोबार छिटोछरितो गर्न सघाएको छ । सेयरको अभौतिकीरणले सेयर प्रमाणपत्र बोकेर हिडने, च्यातिने बिग्रने, हराउने जस्ता समस्या बाट लगानिकर्ताले मुक्ति पाएका छ्न ।

हितग्राही भनेका को हुन ?
हितग्राही भन्नाले निक्षेप सदस्य मार्फत सिडिएससिमा धितोपत्र निक्षेप गर्न हितग्राही खाता खोलेका तथा विधुतिय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहण गरेका व्यक्ति हुन ।

हितग्राही (डिम्याट) खाता भनेको के हो ?
हितग्राहिले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रिय निक्षेप कम्पनीसँग बेग्लै खाता नम्बरबाट खोलेको विधुतीय खाता (Demat Account) नै हितग्राही खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट खाता खोल्नको लागि निक्षेप सदस्य मार्फत सम्पुर्ण विवरणहरु प्रणालीमा प्रविष्टि गरेपछी प्रणालीबाट उत्पन्न हुने १६ अंकको पृथक डिम्याट नम्बर उपलब्ध गराईन्छ  । भविष्यमा गरिने सबै सेयर कारोवारहरुमा यो नम्बर उल्लेख गर्नुपर्दछ । यो डिम्याट नम्बर दुई हितग्राहीहरुको समान हुदैन ।

डिम्याट खाता कहाँ र कसरी खोल्ने ?
डिम्याट खाता धितोपत्र बोर्डबाट निक्षेप सदस्यको कार्यगर्न अनुमती पत्र प्राप्त निक्षेप सदस्यता लिएका बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी मार्फत खोल्न सकिन्छ ।  सिडिएससिमा खाता खोल्ने प्रक्रिया पनि बैंकमा खाता खोल्ने प्रक्रिया जस्तै हो । जसरी बैंक खाता खोल्न विभिन्न कागजपत्र आवश्यक हुन्छ्न त्यसै गरि डिम्याट खाता खोल्न पनि आवश्यक कागजातहरु पेश गरि खाता खोल्ने फाराम भरेर बुझाए पछि निक्षेप सदस्यले सिडिएस लिमिटेडको प्रणालीमा प्रविष्ट गर्दछ । उत्त प्रविष्टिलाई सिडिएससि बाट सदर भएपश्चात डिम्याट खाता खुल्दछ र हितग्राहीलाई सदर गरेको पत्र प्राप्त भएपछि डिम्याट खाता खोल्ने प्रक्रिया पूरा हुन्छ । डिम्याट खाता खोलेपछि आफुसँग भएका वा खरिद गरेका सेयर यहि खातामा जम्मा हुन्छ्न । जसरी बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ । डिम्याट खाता खोलेपछि हितग्राही अथवा लगानी कर्तालाई १६ अंकको डिम्याट खाता नम्बर र चेक बुक अर्थात हस्तान्तरण निर्देशन पुर्जी दिइन्छ ।  सेयर खरिदबिक्री गर्दा डिम्याट खाता ब्रोकर कम्पनीलाई दिनु पर्ने हुन्छ । सेयर खरिद गरेपछी सेयर डिम्याट खातामा जम्मा हुन्छ भने सेयर बिक्री गर्दा चेक काटेर ब्रोकर कम्पनीलाई दिएपछि सेयर खाता बाट सेयर खरिद वालाको खातामा सेयर हस्तान्तरण भइ हाम्रो डिम्याट खाताबाट सेयर घटदछ ।

डिम्याट खाता खोल्न के के कागजात चाहिन्छ्न ?

डिम्याट खाता अनुमति प्राप्त कुनै पनि सदस्य कहाँ खोल्न सकिन्छ । खाता खोल्न पहिलानै कुनै प्रकारको सेयर हुनै पर्छ भन्ने हुदैन । सेयर हुने नहुने सबैले यो खाता खोल्न सक्छ्न । डिम्याट खाता खोल्न खाता खोल्ने सम्बन्धित लगानीकर्ताको तीन पुस्ते विवरण सहित नागरिकताको फोटोकपि फोटो आवस्यक हुन्छ । परिवारको एक सदस्यले खाता खोलेर सवै सदस्यलाई हुदैन हरेक सदस्यले अलग अलग डिम्याट खाता खोल्नु पर्दछ । नाबालकको हकमा नाबालकको फोटो, जन्मदर्ता प्रमाणपत्र को फोटोकपी र संरक्षकको नागरिकताको फोटोकपी आवस्यक हुन्छ । डिम्याट खाता खोल्न रु ५०  र बार्षिकि खाता संचालन शुल्क रु १०० गरि सुरुमा खाता खोल्दा रु १५० लाग्दछ भने प्रत्येक बर्ष रु १०० तिरेर डिम्याट खाता नविकरण गर्नु पर्दछ ।
 पहिलै सेयर प्रमाणपत्र हुने लगाकर्ताले डिम्याट खातामा सेयर जम्मा गर्न आफुसँग भएको सेयर लिएर जाने र हरेक कम्पनीको सेयरको विवरण भर्ने निक्षेप सदस्यले दिने अलग्गै अभौतिकिकरण गर्ने फारम भरेर सेयर प्रमाणपत्रको प्रतिलिपी बुझाए पछि सेयर डिम्याट खातामा जम्मा हुन्छ ।

डिम्याट खाताका फाइदा के के हुन्छन् ?
* सेयर बजारको आकार बढाउन मद्दत पुर्याउने
* कारोवार संख्या र कारोवार रकममा व्यापक वृद्धि हुने
* भौतिक प्रमाणपत्रहरुमा भएका जोखिम हटाउने
* सुचिकृत कम्पनीले सेयरधनिलाई दिएको बोनस सेयर सिधै खातामा डिम्याट खातामा जम्मा हुने
* साधारण सेयर निश्कासन गर्ने कम्पनीले सेयर बाँडफाँड गरि डिम्याट खातामार्फत  सेयर वितरणगर्दा सेयर प्रमाणपत्र छाप्नुपर्ने खर्च तथा समयको बचत हुने
* दोस्रो बजारमा सेयर कारोवार भएपछि राफसाफ प्रक्रियासमेत छिटो हुन्छ ।
* सेयर बिक्री गरेपछि छिट्टै पैसा बिक्रेताको हाता पर्ने
* धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण तथा सार्वजनिक निस्कासनबाट वितरित सेयरहरुको शिघ्र वितरण हुने
* बिना झन्झट तुरुन्त सेयर नामसारी गर्न सकिने
* पोर्टफोलियो व्यवस्थापन तथा सेयरहरुको बन्धकिमा सहजता आदि ।

डिम्याट खाता एक जना व्यक्तिले बढिमा दुईवटा सम्म खोल्न सक्दछ ।
यसरी सेयर बजारमा प्रवेश गर्ने विचार गर्नु भएको नयाँ लगानीकर्ताले सुरुमा डिम्याट खोलेर मात्र आउनु होला प्राथमिक बजार तथा दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न अनिवार्य डिम्याट खाताको आवश्यकता पर्दछ । डिम्याट खाता बिना अहिले कुनै पनि सेयर कारोवार गर्न सकिदैन ।


Powered by Blogger.