Header Ads

यति यि काम भइदिनेहो भने नेपाली सेयर बजारमा पनि आउने थियो चमक


नेपालको पुँजी बजारको इतिहास हेर्दा दुई दसक भन्दा लामै छ तर पनि आज हामी सँगसँगै सुरु भएका हाम्रा छिमेकी मुलुकका पुँजी बजार धेरै माथी पुगिसकेका छन । ती मुलुकले पुँजी बजारको बिकासको लागी आवश्यक सम्पुर्ण पुर्वाधार निर्माण गरिसकेका छ्न । आज तिनीहरुको पुँजी बजार अन्तर्राष्ट्रिय स्थरको र पुर्ण प्रबिधि मैत्री भइ सक्दा पनि हाम्रो पुँजी बजार धेरै धीमा गतिमा अगाडि बढदै छ । हामी उनीहरु भन्दा धेरै तल छौ हामी भन्दा धेरै पछि सुरुवात भएको म्यानमारको पुँजी बजार पनि आज धेरै माथी पुगिसकेको अवस्था छ । अहिलेसम्म पनि हाम्रो पुँजी बजार नत प्रबिधि मैत्री हुन सकेको छ नत अन्तर्राष्ट्रिय स्थरको नै हुन सकेको छ । नेपालको पुँजी बजारको जुन गतिमा बिकास हुनु पर्ने थियो त्यो गतिमा बिकास हुन नसके पनि केही कुरामा बिकास भएको छ । केही महिना अघि सम्म घण्टौ लाईन बसेर आईपिओ र एफपिओ भर्नु पर्ने बाध्यता को अन्त्य सि-आस्वा को सुरुवात सँगै भएको छ भने अर्कोतिर डिम्याट को सुरुवात सँगै सेयरको कागजी प्रमाणपत्र बोकेर हिडनु पर्ने झन्झट बाट मुक्ति मिलेको छ । जसरी नेपालको प्राथमिकता सेयर बजारले एउटा छ्लाङ मार्न सफल भएको छ । त्यो गतिमा दोस्रो बजारमा विकास हुन सकिरहेको छैन । अहिले पनि पचास वटा ब्रोकर कम्पनीको सिन्डिकेटमा बिसौखर्बको दोस्रो बजार चलिरहेकोछ । देशका सिमित ठुला सहरमा मात्र सेयर कारोवार हुँदै आईरहेको छ । अहिलेसम्म पनि सबै नेपाली जनताको पहुँचमा पुँजी बजार पुग्न सकिरहेको अवस्था छैन । नेपाली लगानीकर्ताहरुले आईपिओ मा सि-आस्वाको प्रयोग गरि जहाँ बाट पनि आवेदन गर्न पाउने भए तर आइपिओ मा परेको सेयर को उचित मुल्य आउँदा बेच्न पाउने सुबिधा अहिलेसम्म पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा नेपाल सरकार, अर्थमन्त्रालय, राष्ट्रबैंक, बिमा समिती, धितोपत्र बोर्ड र नेप्सेले समन्वयकारी भुमिका खेल्दै नेपालको पुँजी बजारको पुर्वाधार विकासको लागी जोडदिनेहो भन्ने हाम्रो देशको पुँजी बजार पनि छिटैनि अन्तर्राष्ट्रिय स्थरको र प्रविधि मैत्री हुन सक्छ । हरेक बादल भित्र चाँदीको घेरा हुन्छ भने जस्तै हाम्रो पुँजी बजारको विकास र विस्तारका लागी धेरै सम्भावना छ्न जुन सम्भावना र नयाँ कार्यक्रमहरुको सुरुवात गरिदैछ ।
निम्न कार्यक्रमहरु जो कार्यान्वयनको चरणमा छ्न यी कामहरुको कार्यान्वयन सँगै नेपाल को पुँजी बजार स्वर्णिम युगमा ( Golden Era ) प्रवेश गर्नेछ:

१. अन्लाईन ट्रेडिङ को सुरुवात: अब ढिलो चाँडो नेपाली सेयर बजारमा अन्लाईन ट्रेडिङ को सुरुवात हुदै छ । केही दिन अगाडि मात्र भेण्डोर कम्पनीले अन्लाईनको सफटवेर निर्माण पूरा गरि नेप्सेलाई हस्तान्तरण गरिसकेकोछ । नेप्सेले अन्लाईन प्रणालीको परिक्षण गर्ने कम्पनी छान्नको लागि बिड पनि गरिसकेको छ । अब छिट्टै नेपालको पुँजी बजार पनि पुर्णरुपमा प्रविधि मैत्री हुदैछ । अन्लाईन ट्रेडिङ भनेको ईन्टरनेटको माध्यमद्वारा   घरमै बसेर कम्प्युटर तथा मोबाईलको सयोगमा दोस्रो बजाबाट सेयर खरिदबिक्री गर्ने सुविधा हो । यसकोलागि ब्रोकर सँग युजर नेम र पास्वर्ड लिनुपर्नेहुन्छ । अहिले दोस्रो बजारबाट  सेयर खरिदबिक्रीको अडर दिन दलालको कार्यालयमा पुग्नै पर्ने बाध्यता छ । हुनत अहिले सेमि अन्लाईनको सुरुवात पनि भएको छ यस्कोलागि पनि ब्रोकरकोमा जानै पर्ने हुन्छ । अन्लाईन सेवा सुरु भए पछि यस्ता सबै समस्या समाधान भएर जाने छ्न । यो सुबिधा लागू भए पछि रोजगारी र अध्यनको शिलसिलामा  बिदेशमा बस्ने लाखौं नेपालीहरुको पहुँच नेपाली सेयर बजारमा पुग्ने छ  ।  बिश्वको कुनै पनि देशमा बस्ने नेपाली  नागरिकले पनि बिदेशमा नै बसेर सेयर किन- बेच्न गर्न सक्ने छ्न । साथै नेपाल भित्रै देशका विभिन्न कुना कन्धारामा बस्ने नेपालीहरुले  पनि सहज तरिकाले सेयर खरिदबिक्री गर्न सक्ने छ्न । अन्लाईन सेवाको सुरुवात संगै दोस्रो बजार बाट लगानी कर्ताले सेयर खरिद गर्दा डिम्याट खातामा सेयर बढछ बैंकको खाताको रकम घटछ । सेयर बिक्री गर्दा डिम्याट खातामा  सेयर घटछ बैंकखाता मा रकम बढछ । अन्लाईन को सुरुवात सँगै नेपाली पुँजी बजार धेरै माथि पुग्नेछ

२. गैर-आवासीय नेपालीहरुको  लगानीलाई नेपालको सेयर बजारमा भित्राउने कार्यको सुरुवात:  नेपालमा जन्मेर बिश्वका विभिन्न मुलुकम गएर जागिर र  ब्यापार-ब्यवासाय गरि त्यहीको नागरिकता लिएर बसेका लाखौं गैर-आवसिय नेपालीहरुलाई नेपालको सेयर बजारमा लगानी गर्ने र मुनाफा फिर्ता लान पाउने कुरा सरकारको निति तथा   कार्यक्रममा उल्लेख गरिएको छ । बजेट भाषणमा पनि  यो वातावरण मिलाउनको लागि नियम कानुन बनाउने कुरा आएकोछ । यो सुबिधा लागू भएपछि  गैर-आवासीय नेपालीहरुले नेपालको सेयर बजारमा सिधै लगानी गर्न सक्ने छ्न । यसले बजारमा अहिलेको जस्तो अधिक आपूर्तिले पिरोल्ने छैन । गैर आवासीय नेपालीले सेयर बजारमा लगानी गर्ने अवसर पाए भने यसले बजारको रौनकता पनि बढाउने छ फलस्वरूप लगानी कर्ताको संख्या बढेर माग समेत उच्च हुने छ र अहिलेको अधिक आपूर्ति  समेत अपुग भइ बजार थप विकास र विस्तार हुनेछ ।

३.  बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने कार्यको अध्ययन जारी:  अहिले लगानी कर्ताको खर्वौ रकम ५० वटा ब्रोकर कम्पनी र तिनका ४७ वटा RWS साखामा मात्र सिमित छ । वर्तमान सरकारले विभिन्न स्थानमा रहेका सिन्डिकेट तोडने कामको सुरुवात गरिसकेको छ पुँजी बजारमा रहेको ब्रोकरको सिन्डिकेट पनि बैंकलाई ब्रोकर लाइसेन्स दिएर तोडनेनै छ । अब ५० वाट  ब्रोकर कम्पनीहरुले मात्र यति ठूलो रकम को व्यस्था गर्न सक्ने अवस्था रहने छैन ।  त्यसकारण ढिलो-चाँडो  बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनै पर्ने बाध्यता छ । बैंकहरुले ब्रोकर लाईसेन्स पाए पछि नेपालको कुनै पनि कुना कन्धरामा रहेका नेपाली नागरिकले सेयर खरिदबिक्री गर्ने अवसर प्राप्त गर्नेछ्न । सेयर कारोवारका यी सवै गतिविधिहरु अन्लाईन बाटै हेरिन्छ । बैंकलाई ब्रोकर लाइसेन्स दिए सँगै मुस्ताङको एउटा  भोटले स्याउ बेचेको पैसा सेयरमा लगानी गरेछ सेयर को भाउ बढेछ दंगछ । कोशी पारिको बल्छी ध्रुबेले माछा बेचेर कमाएको पैसा सेयरमा लगानी गरेछ छ महिनामै राम्रै कमाएछ । तराई को एउटा यादव किसानले तरकारी खेती बाट कमाएको पैसा सेयर मा लगाएछ आज सेयर बढ्दा उ पनि दंग परेको छ । यसरी हरेक नेपाली नागरिकले सेयरमा लगानी गर्न पाए भने राम्रै आय आर्जन गर्न सक्षम हुनेछन् । यसरी कुना-काप्चमा सामान्य आम्दानी गर्नेहरूलाई समते आर्थिक गतिविधिमा सामेल गराई उनीहरुको आर्थिक अवस्था कायापलट गरिदिनेछ । यो सपना हामी सबै लगानीकर्ताहरुको सपना हो यो सपना तब मात्र पुरा हुन्छ जब  बैंकहरुले ब्रोकर लाइसेन्स प्राप्त गर्दछ्न । बैंकहरुले ढिलो-चाँडो ब्रोकर लाईसेन्स प्राप्त गर्नेनै छ्न । यसकार्यकालागि अर्थमन्त्रीले पहल गर्ने प्रतिबद्धता जनाएकाछ्न । यो कोणबाट समेत सेयर बजारको भविस्य अति सुन्दर छ ।

४. बजार निर्माता को ब्यवस्था: अहिले नेपाली सेयर बजारमा सेयरको आपूर्ति बढी हुँदा निरन्तर  सेयर  बजार घटेको घटै छ भने अर्को तिर नेपाली सेयर बजार बढी अस्थिर छ । बिना आधार बजार बढने बिना आधार बजार घटने प्रवृति छ जसको मारमा नयाँ र साना लगानीकर्ता पर्दै आएकाछ्न । यस्ता समस्यालाई समाधान गर्नको लागी नागरिक लगानी कोष र सन्चय कोषलाई बजार निर्माताको रूपमा भित्राउने बहसको व्यापक सुरुवात भएको छ । सरकारको निति तथ कार्यक्रम र बजेटमा पनि यो कुरा समेटिएकोछ नागरिक लगानी कोष, सन्चय कोषलाई र अन्य यस्तै कोषलाई बजार निर्माता को रूपमा सेयर बजारमा भित्राए पछि अहिलेको अत्यधिक सेयर आपूर्ति को समस्या पनि समाधान हुने र बजार पनि स्थिर हुनेछ ।

५. देशमा राजनितीक स्थिरताको सुरुवात: मुलुक लामो राजनितिक अस्थिरता पछि स्थिरतातिर लम्कदै छ । केन्द्रमा इतिहासकै बलियो र लगभग दुई तिहाईको सरकार निर्माण भएकोछ भने सातै प्रदेशम एउटै पार्टिको बलियो प्रदेश सरकार छ । नेपालका दुई ठुला कम्युनिस्ट पार्टी बिचमा एकीकरण भइसकेको छ मदेशको प्रतिनिधित्व गर्ने संघीय समाजवादि फोरम पार्टी पनि सरकारमा सामेल हुदैछ । यसरी इतिहासकै बलियो, दुईतिहाइको र स्थिर सरकार बनेको छ । देश अब राजनीतिक क्रान्ति पुरा गरि  आर्थिक क्रान्तिको लागि अगाडि बढको छ । सातै परदेश मा प्रदेश सरकार निर्माण हुनु भनेको संघीयता कार्यान्वयन हुनु हो संघीयताको कार्यान्वयन सँगै  केन्द्रीकृत शासन प्रणाली विकेन्द्रीकृत हुदै जानू हो । विकेन्द्रीकृत शासन प्रणालीले गाउँ को विकासमा बहार ल्याउने अपेक्षा गरिएको छ । त्यसपछि समग्र मुलुकले विकासको काँचुली फेर्नेछ । यस्तो अवस्थामा लगानीका अवसरहरु विस्तार भइ आर्थिक गतिविधि  बढने र त्यसले सेयर बजारलाई चम्काउनु सयोग गर्नेनै छ ।

६. तीब्र गतिमा आर्थिक वृद्धि:  गत बर्ष नेपालले चौबीस बर्षकै उच्च आर्थिक वृद्धि  हासिल गर्यो त्यति मात्र होईन तीब्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकहरुमा तेस्रो स्थानमा पर्न सफल भयो । आ.ब. २०७५/०७६ मा आर्थिक वृद्धि दर ८% हुने प्रक्षेपण गरिएको छ । यो वृद्धिदर दुई डिजिटको नजिकहो । मुल्य अभिवृद्धि दर ६.५% भित्र राखने कुरा उल्लेख गरिएको छ । यो आर्थिक बर्षमा नेपालीको प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर पुग्ने कुरा आएकोछ । समग्र अर्थतन्त्र को विकासको लागि सरकारले प्रस्तुत गरेको बजेट ज्यादै राम्रोछ भन्ने प्रतिक्रिया विभिन्न पक्ष बाट आएको छ । बजेटले महिला र युवा उद्यमिलाई विशेष जोडदिएको छ । यसरी देशमा राजनीतिक स्थिरता बढदै जाँदा वैदेशिक लगानीको वातावरण बन्ने छ । नयाँ उद्योग धन्दा खोल्ने छ्न खुले सँगै रोजगारिका  अवसर प्रसस्त  सिर्जना हुने छन । रोजगारी बढेपछि आम्दानी बढने छ आम्दानी बढेपछि सेयरमा लगानी बढने छ । फलस्वरूप नेपालको पुँजी बजार धेरै राम्रो हुनेछ

७. बैंकमा देखिएको तरलता को संकट समाधान: अहिले बजार निरन्तर घटनुमा प्रमुख कारण बैंकमा देखिएको तरलताको संकट हो । यो तरलताको संकट दिगोरुपमा समाधान गर्नको लागि अहिलेका अर्थमन्त्री लागि परेकाछन । अहिले तरलता संकट समाधान हुँदै गइरहेको छ । बैंकहरुले ब्याजदर घटाउन सुरु गरिसकेका छ्न । ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ अर्थात ब्याजदर बढदा सेयर बजार घटछ भने ब्याजदर घटदा सेयर बजार बढछ । केही समयपछि तीब्र गतिमा बैंकहरुले ब्याजदर घटाउन सुरु गर्नेनै छ्न । तरलता को समस्या समाधान सँगै  बैंकहरुमा सेयर कर्जा दिने काममा तीब्र प्रतिस्पर्धा  सुरुहुनेछ । आउँदा दिनहरूमा वित्तीय  क्षेत्रका सम्पुर्ण समस्या समाधान हुने तथा बजारका लागि आधुनिक पुर्वधार संचालनमा आउने । नेपाल रास्ट्र बैंक र बिमा समितिले थप बित्तिय संस्था खोल्ने अनुमति रोक्ने कुरा को साथै विद्यमानमा रहेका वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा लाने रणनीति लिनु,  बित्तिय संस्थाहरुको चुक्ता पुजी वृद्धि सगै झन झन बलिया हुँदै जानू, धेरै कम्पनीहरुले सकारात्मक वित्तीय विवरण पस्किनु आदि कुरा सेयर  बजारका लागी सकारात्मक पक्ष हुन ।

८. ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ र डिलरसीप सेवा दिने:  ब्रोकर कम्पनीहरु लाई सेयर धितो राखेर लगानीकर्ताहरु लाई ऋण दिने  सुविधा  मार्जिन ट्रेडिङ र सेयर बजार सम्बन्धि काम गर्ने डिलरसिप दिने कुरा पारित भइसकेको छ । आसा गरौ अब नितिनियम बनेर यो सुविधा छिट्टै कार्यान्वयनमा आउनेछ । यो सुविधा ब्रोकर कम्पनीहरुले सुरु गरेपछि लगानी कर्ताहरुलाई सेयर कारोवार गर्न धेरै सजिलो  हुनेछ । साथै नयाँ ब्रोकर कम्पनी खोल्ने अनुमति दिने र ब्रोकर कम्पनीले विभिन्न स्थानमा साख (RWS) खोल्नु पर्ने बाध्यकारी नियम आउनेनैछ फलस्वरूप सबै स्थानीय निकायमा ब्रोकर कम्पनी पुग्ने सम्भावना बढेको छ ।

९. पुँजी बजारलाई बजेटमा गरिएको सकारात्मक व्यवस्था:
अर्थमन्त्रीले  संसदमा पेस गरेको बजेटमा पुँजी बजार अनुकूलका धेरै राम्रा कुराहरू आएकाछ्न जुन यस प्रकार छ्न:

१. एक अर्ब भन्दा बढी पुँजी भएका उत्पादनमुलक कम्पनीलाई सेयर बजारमा ल्याईने ।

२. पचास करोड रुपैया चुक्ता पुँजी भएका कम्पनीले आईपिओ जारी गरेमा तीन बर्ष सम्म आयकरमा १०% छुट दिईने ।

३. बारम्बार बजारमा VAT को आतंक मच्चाएर लगानीकर्तालाई तर्साउने ब्रोकर कमिसनमा लाग्ने  VAT खारेजीको घोषणा ।

४. बिमा कम्पनी र हाइड्रोपावर कम्पनीलाई प्रोत्साहन गर्ने कार्यक्रम आएकोछ । हाइड्रोपावर कम्पनीको नियामक निकायको वयवस्था ।

५. सेयर बजारलाई प्राथमिकतामा राखदै प्राइभेट इकिवटी फण्ड, हेज फण्ड, भेन्चर फण्ड लगायत का नयाँ संस्थाहरु लाई पुँजी बजारमा प्रवेश गराउने नीति लिएको ।

६. राष्ट्र बैंक ऎन, बिमा समिति ऎन र धितोपत्र ऎनमा आवश्यक संशोधन गरिनेछ आदि ज्यादै राम्रा कुराहरु बजेटमा आएका छ्न । यी कुराहरूले  नेपाली पुँजी बजारको विकास र विस्तारमा धेरै ठूलो भुमिकाखेल्ने छ ।

१०. नेपाल धितोपत्र बोर्डले विभिन्न राम्रा-राम्रा कार्यक्रमहरु को घोषणा गरेको अवस्था: धितोपत्र बोर्डले आगामी बर्षको योजनामा विभिन्न कार्यक्रमहरु जस्तै सेयर कारोवार का गतिविधिलाई सहज बनाउने भनेर धितोपत्र बोर्ड को क्षेत्रीय कार्यलय खोल्ने, धितोपत्र बजार प्रशिक्षण प्रतिस्ठान  स्थापन गर्ने , ब्रोकर कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने आदि राम्रा कार्यहरुको घोषणाले नेपाली सेयर बजार को भबिस्य उज्ज्वल  छ ।

११. माथि उल्लेखित कार्यक्रमहरु बाहेक नियामक निकायहरुले निम्नलिखित कार्यहरू अगाडि बढाउनु पर्छ भनेर चौतर्फी रुपबाट दबाब सिर्जना दिने काम भइरहेको छ ।  जस्तैः

* अहिलेको आपूर्ति थेग्न दिगो संयन्त्र को विकास गर्ने ।

* नेप्सेको निजीकरण र अर्को नेप्सेको स्थापन ।

* सेयर शिक्षा प्रबर्द्धन गर्नको लागी सरकार तथा नियामक निकायले ब्यवहारिक तालीम को ब्यवस्था गराउदै सेयर बजार को महत्त्व सर्वसाधारणलाई वुझाउने ।

* विद्यालय र विश्वविद्यालयहरुको पाठयक्रममा सेयर बजार सम्बन्धि ज्ञान दिने बिषयवस्तु समटने ।

* विद्यालय तह देखिनि विद्यार्थीहरु लाई बचतको महत्त्वको जानकारी गराउदै सेयर बजारमा लगानी गर्न उत्प्रेरित गर्ने विद्यार्थीकाल देखी नै बचत गर्ने बानिको बिकास र प्रोटफोलियो बनाउन सिकाउने ।

* गाउँ-गाउँ सम्म सेयर किनबेच गर्न सक्ने संयन्त्र विकास गर्न ब्रोकर कम्पनी तथा बैंकहरुलाई संघीय संरचना अनुसार गाउँ केन्द्रित गराउने । आदि कार्यहरू निकट भबिस्यमा नियामक निकायहरूले कार्यान्वयन गर्नै पर्ने बाध्यता छ । यी विविध कारण अबको केही समय पछि नेपाली सेयर बजार स्वर्णिम युगमा प्रवेश गर्नेछ भन्ने कुरामा नेपाली सेयर लगानी कर्ताहरु डुक्क भए हुन्छ ।

लेखक: नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन





Powered by Blogger.