Header Ads

नेपालको सेयर बजार निरन्तर किन घटिरहेको छ ? यस्ता छ्न कारणहरु



नेपालको सेयर बजारको २० वर्षे इतिहासमा २०७३ साउन १२ गते नेप्से १८८१ पुगेर नेपाली सेयर बजारले एउटा नयाँ इतिहास रचेको थियो तर इतिहास धेरै समय सम्म टिक्न सकेन । त्यस यता निरन्तर रूपमा नेपालको सेयर बजार घटेको घटैछ । गत साल नेप्से १८८१ बाट घटदै आएर १२१८ सम्म पुगेर फेरि बजार फर्केर गत साल चैत्रमा १७७० सम्म पुगेको थियो । त्यस यता भने नेपाली सेयर बजार निरन्तर घटिरहेको छ । बिगतका चुनावी वर्षका बजारको ट्रेन्डलाई हेर्दा सेयर बजार बढेको पाईन्छ त्यही  ट्रेन्डलाई हेरेर धेरै सेयर लगानीकर्ताका जानकार तथा बिश्लेषकहरुलाई लागेको थियो यो बर्ष नेपालमा स्थानीय, प्रादेशिक र राष्ट्रिय चुनाव भएको छ । अबत पक्कै पनि बजार बढछ तर बजार बढने । त्यसपछि नयाँ स्थिर र बलियो सरकार बने पछि त पक्का पनि बजार बढछ भन्ने आसा गरेका थिए फेरि पनि प्रधानमन्त्रीको रूपमा केपि शर्मा ओलिले शपथ लिदाको दिन मात्र  बजार ३६ अंकले बढेको थियो भने त्यस यताका दिनहरूमा निरन्तर घटिनै रहेको छ । सरकारले स्वेतपत्र जारी गरेपछी केही दिन बजार बढ्यो फेरि ओरालो लाग्न सुरु गर्यो । केही दिन अगाडि नेपालका दुई ठुला कम्युनिस्ट पार्टिको बिचमा एकीकरण भयो । अबत देशमा पाँच बर्षसम्म स्थिर सरकार हुने भयो पक्कै पनि यसको सकारात्मक असर बजारमा देखिएला भनेका थिए त्यो पनि देखिएन । फेरि यो सरकारका अर्थमन्त्री डाक्टर युवाराज खतिवडाले संसदमा बजेट भाषण गरे जुन बजेट भाषणमा पुँजी बजारका बारेमा एउटा कुरा CGT पुँजीगत लाभकर बाहेक बाँकी सबै कुरा सकारात्मक थिए अब त बजार बढछ्की भन्ने लागेको थियो तर दुर्भाग्यको कुरा बजेट भाषण पछित झन बजार निरन्तर ओरालो लागेको लागै छ । देशमा सबै कुरा सकारात्मक हुदाहुदै पनि   बजार किन यसरी निरन्तर ओरालो लागिरहेको छ भनेर बुझनलाई हामीले सामाजिक संजालमा   सेयरलगानी कर्ताहरु सँग निरन्तर बजार घटनुका कारण बुझेका थियौ । उहाँहरुले दिनु भएका निरन्तर बजार घटनुकारण र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा आज म यो लेखमा चर्चा गर्न गइरहेको छु ।
 लगानीकर्ताहरु माझ गरिएको सर्वेक्षण बाट यस्ता देखिए निरन्तर बजार घटनुका कारणहरु:
१. बढ्दो बैंकको ब्याजदर
२.चार गुणा सम्म पुँजी वृद्धि
३. अत्यधिक मात्रमा सेयर आपूर्ति बढनु
४. बजार निर्माता को अभाव
५. पुँजीगत लाभकर मा भएको वृद्धि
६. अन्लाईन ट्रेडिङ ल्याउनमा भएको ढिलाइ
७. बैंकले ब्रोकर लाइसेन्स पाउने छाट नदेखिनु
८. गैरआबसिय नेपालीलाई नेपाली पुँजी बजारमा लगानी गर्ने वातावरण नबनाउनु
९. सेयर शिक्षा को अभाव
१०. पुँजी वृद्धिको नाममा हकप्रद सेयर, बोनस सेयर र एफपिओ को बाढी आउनु
११. सेयर आपूर्ति अनुसारको बजार विस्तार गर्न नसक्नु
१२. मास साईकोलोजिमा आधारित सेयर बजार हुनु
१३.म्युचुअल फण्डहरुको भुमिका नकारात्मक
१४. धितोपत्र बोर्ड र नेप्सेको भुमिका शुन्य
१५. सकुनिको भुमिकामा ठुला लगानी कर्ता हुनु
१६.  कम्युनिस्ट सरकार प्रति निजि क्षेत्रले विश्वास नगरेको होकि भन्ने आंसका
१७. सेयर बजारका खेलाडीहरुले विभिन्न अन्लाईन पत्रीकाहरुलाई प्रयोग गरि बजारमा चलखेल गरेको अवस्था
१८. विभिन्न सामाजिक संजालमा आउने समाचार र व्यक्तिको पछाडि लागेर सेयर कारोवार गर्ने जमातको कारण
१९. लगानी कर्तामा धैर्यता नहुनु
२०. बजारमा ट्रेडरको हावी हुनु
२१. टिपटापे कारोवरी र खुरापातीहरुको अप्राकृतिक चलखेल
२२. लगानीकर्ताको हतोत्साहित मनोबिज्ञान
२३. ब्रोकरहरुको सिन्डिकेट
२४. दीर्घकालीन लगानी कर्तालाई प्रोत्साहन नगर्नु
२५. आर्थिक नितिमा कडाई
२६. लगानी कर्ता कम बुझने धेरै सुन्ने
२७. प्रविधिक विश्लेषणमा विश्वास कुन बिन्दुसम्म बजार घटछ वा बढछ भन्यो त्यही बिन्दुलाई  सबैले कुरेर बस्ने अनि खरिदबिक्री को निर्णय गर्ने प्रवृतिको विकास
२८. बजार विस्तार नगरी निजि कम्पनीहरुलाई सेयर बजारमा ल्याउने बाध्यकारी नियम आउनु
२९. अन्लाईन पत्रीकाको नकारात्मक समाचार
३०. मन्द बिषसरह पुँजी पलायन हुँदै जानू जस्ता विभिन्न कारणहरु विभिन्न लगानी कर्ताहरुले दिनु भएको छ ।

 यस्ता कारणहरुले निरन्तर बजार घटदा पनि नियमाक निकायहरले बजारको विकास, विस्तार, प्रविधि मैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउन कुनै पनि  पहल नगर्दा पुँजी बजारबाट धेरै लगानी कर्ताहरु पलायन हुनुपर्ने अवस्था आएकोछ । नियामक निकायकको निकम्मापनले गर्दा आज बजार बाट विद्यार्थी गृहिणी सामान्य नागरिक र कतिपय ठुला लगानी कर्ता पनि पलायन भएका छ्न । यसरी निरन्तर बजार घटिरहदा पनि नत सरकार र अर्थमन्त्रालयले चासो दिएको छ नत धितोपत्र बोर्ड र नेप्सेले नै जवकी बजार निरन्तर बढन थाल्यो भने यी निकम्मा नियमक निकायले दिनका दिन विज्ञप्ति निकाल्न सुरु गर्ने थिए । धितोपत्र बोर्डले सेयर शिक्षा दिने नाममा हुम्ला जुम्ला पुगेको हुन्छ जहाँ नागरिकलाई सेयर खरिदबिक्री गर्ने सुविधानै छैन । त्यस्तो ठाउँमा गएर सेयर तालिम सन्चालन गरेर भत्ता पचाएर आउँछन । अब नेपाल को पुँजीबजारको विकास र विस्तार गर्न धेरै ढिला भइ सकेको छ । हामी भन्दा धेरै पछाडी सुरु गरेका हाम्रा छिमेकी मुलुकका सेयर बजार आज धेरै माथी पुगिसकेका छ्न जस्तै म्यानमारको सेयर बजारलाई हेरौ । अब कुनै पनि ढिलाई नगरी बजार घटनुका कारणहरु पहिचान भइसकेका छ्न । यी कारणहरु को निराकरणको लागि अर्थमन्त्रालय, राष्ट्रबैंक बिमा समिति, धितोपत्र बोर्ड र नेप्सेले तुरुन्तै विभिन्न नीतिनियम, कानुन, कार्यक्रम र योजना निर्माण गरि अगाडि बढनु पर्छ । माथि  उल्लेखित कारणहरुको निराकरण गर्न र नेपालको पुँजी बजारलाई प्रविधि मैत्री, सबैको पहुँचमा पुर्याउन, अन्तर्राष्ट्रियस्थरको बनाउन नेप्सेले जुन प्रतिबद्धता गरेको छ । श्रावण एक गते देखि लगानी कर्तको हातमा हामी अन्लाईन प्रणाली दिन्छौ भनेर त्यसमा अब कुनै बाहनबाजि नगरि अन्लाईन ट्रेडिङलाई पछाडी धकेल्न काम नहोस । अहिले ५० वटा ब्रोकर कम्पनीको हातमा नेपालको पुँजी बजार सिमित छ । यिनी ब्रोकर कम्पनीले बजार बढाउन चाहे भने बढाउने घटाउन चाहे भने घटाउने  जुन प्रकारको सिन्डिकेट छ । यो सिन्डिकेटलाई तोडेर आम नेपाली नागरिक पहुँचमा र हातम सेयर बजारलाई पुर्याउन तुरुन्तै यो आउने मौद्रिक नितिमा बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरियोस  साथै मौद्रिक नीति पुँजीबजार अनुकूल आओस । सेयर बजारमा देखिएको अधिक आपूर्तिलाई खपत गर्न अन्लाईन ट्रेडिङ र बैंकलाई ब्रोकर लाइसेन्स दिन जति आवश्यकता छ । त्यतिनै आवस्यकता गैरआवसिय नेपालीहरु NRN लाई नेपाली पुँजी बजार खुल्ला गर्नु पर्नेछ । त्यस कारण अर्थमन्त्रालय र नियमक निकायले NRN लाई नेपाली सेयर बजारमा लगानी गर्न र सहज रूपमा मुनाफा लान मिल्ने आवश्यक नितिनियम तुरुन्तै बनाओस । अन्लाईन ट्रेडिङको सुरुवात, बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स, गैर आवसिय नेपालीहरुलाई पुँजीबजारमा भित्राउने काम भयो भने मात्र अहिलेको यो अधिक आपूर्ति को समस्यालाई समाधान गर्न सकिन्छ । अहिले बजार घटनुको अर्को प्रमुख कारण बैंकको बढ्दो ब्याजदर पनि हो । जब सम्म ऋणको ब्याजदर घटेर ७, ८ प्रतिशतमा आउदैन तब सम्म सेयर बजार वढने अवस्था देखिदैन । त्यस कारण अर्थमन्त्राल्य र राष्ट्रबैंकको पहलमा अहिले बैंकमा देखिएको तरलता समस्या दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्नुपर्छ । नेपालको सेयर बजार ज्यादै अस्थिर प्रकृतिको छ । बिनाकारण ४० ५० अंकले बढने, बिनाकारण ४० ५० अंकले घटने यस्तो अस्थिर प्रकृतिको बजारमा साना र नयाँ लगानीकर्ता फस्ने प्रबल सम्भावना  हुन्छ । त्यस कारण नेपालको सेयर बजारलाई स्थिर प्रकृतिको बनाउनको लागि तुरुन्तै नागरिक लगानी कोष, संचय कोष र अन्य यस्तै प्रकृतिका कोषहरुलाई बजार निर्माता बनाईयोस । आसा गरौ बजेटमा यो कुरा परेको छ अब हाम्रो सेयर बजारले छिट्टै बजार निर्माता पाउने छ । अहिले नेपालको सेयर बजारमा दुई चार जना सेयर खेलाडीहरुले विभिन्न हत्तकण्डा अपनाएर केहि अन्लाईन पत्रीकाहरुलाई प्रयोग गरेर आफुले बेचेपछी बजार घटाउन तल्लीन हुने र आफुले किनेपछी बजार बढाउन जसरी लाग्ने गरेकाछ्न । यिनिहरुको यो चलखेल  अन्लाईन ट्रेडिङ को सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्स दिए पछि स्वत: समाप्त भएर जानेछ र बजार आफनो गतिमा चल्न पाउनेछ । बजेटमा आएको पुँजीगत लाभकरमा वृद्धिले पनि केही हदसम्म अहिले बजार घटाउन मद्दत गरेको छ । यो पुँजीगत लाभकर सेयरमा नाफा भएपछी मात्र तिर्नेहो लगानीकर्ताले मुनाफा हुँदा यति थोरै कर तिर्नकोलागी रोहिकराई गर्नुहुदैन । यो कर तिरेपछि फेरि आम्दानी कर तिर्नुपर्ने होकि भन्ने आंसाका लगानीकर्तामा रहेको देखियो ।  पुँजीगत कर तिरे पछि फेरि आम्दानी कर तिर्नु पर्दैन यस कुरामा ढुक्क हुनुहोस् । नेपालि लगानी कर्तामा सेयर शिक्षाको अभावमा आफलै कम्पनीको बारेमा बुझेर लगानी गर्नुभन्दा पनि अरुको कुरा सुनेरे सामाजिक संजालमा आएका कुराहरु हेरेर बिना आधार लेखेका अन्लाईन पत्रीकाका समाचार पढेर सेयरमा लगानी गर्ने जुन प्रवृतिछ यो प्रवृतिको अन्त्य गर्नको लागि सम्बन्धित निकायले व्यापक सेयर शिक्षा दिनुको साथै अहिले कक्षा ११, १२ को पाठयक्रम परिमार्जित हुँदै गरेको अवस्थामा सेयर शिक्षालाई पनि ११, १२ को पाठयक्रममा राखन सकियो भने धेरै राम्रो हुने थियो । लगानी कर्ताले पनि हल्लाको भरमा प्राबिधिक बिश्लेषका धर्कालाई हेरेर भन्दा पनि कम्पनीको वित्तीय अवस्थालाई केलाएर लगानी गर्ने गरौ । सेयर कारोवार गर्ने लगानीकर्तामा धैर्यता पनि हुनु पर्छ । बजार बढेपछि किन्न दौडने घटेपछि बेच्न दौडने प्रवृत्तिको अन्त्य गरौ । म्युचुअल फण्डहरुलाई सक्रिय बनाउने काम गरौ । हुनुत बजेटमा प्राइभेट फण्ड, हज फण्ड र  भेन्चर फण्ड जस्ता फण्डहरुको व्यवस्था गर्नेकुरा आएको छ । आसा गरौ आगामी दिनमा म्युचुअल फण्डहरुको भुमिका सकारात्मक रहेनछ सेयर बजारमा । दीर्घकालीन लगानी कर्तालाई प्रोत्साहन गरियोस् ताकी दैनिक सेयर कारोवार गर्नु भन्दा दीर्घकालीन लगानी गर्दा फाइदा हुन्छ भन्ने मान्यता लगानी कर्तामा बसोस । नेप्सेलाई सक्रिय बनाउन नेप्सेको निजीकरण गरियोस्  । धितोपत्र बोर्डका कार्यक्रमहरु प्रभावकारी बनाउने बाध्यता सिर्जना गरियोस् । जथाभावी बिना आधार समाचार लेखने अन्लाईन पत्रीकाहरुलाई नियमन गरियोस् । बैंक तथा बिमा कम्पनीहरुले हकप्रद बाट भन्दा पनि बोनस सेयर र फोर्स मर्जर बाट चुक्ता पुँजी पुर्याउन व्यवस्था गरियोस्  ताकी बजारमा अहिलेको जसरी सेयरको बाढी आउन नपाओस । अहिलेको सरकारले निजि क्षेत्रको मन जितने काम गरोस् । सरकारले पुँजी बजार उत्पादनमुलक क्षेत्र हो । यहि बाट पुँजी परिचालन गरि आर्थिक गतिविधि संचालन गर्ने हो भन्ने मान्यताका साथ अगाडि बढोस र नेपालको पुँजी बजारलाई पनि विविधकरण गरोस । तब मात्र  हाम्रो बजार पनि प्रविधि मैत्री हुँदै अन्तर्राष्ट्रिय स्तर हुनेछ । अनि मात्र बजारले एउटा नयाँ इतिहास रच्दै अगाडि बढनेछ । माथी उल्लेखित कार्यक्रमहरु कार्यान्वयनको लागि लगानी कर्ताको हकहितमा काम गर्छौ भनेर खोलिएका विभिन्न संघ संगठनहरुले नियामक निकायहरुलाई व्यापक दबाब दिनु पर्ने अवस्था छ ।
लेखक: नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन ।
Powered by Blogger.