Header Ads

सेयर शिक्षा भाग:४ अक्सन, हकप्रद र बोनस सेयर के हो यिनमा कसरी गर्ने आवेदन ?





सेयर शिक्षा भाग तिनमा दोस्रो बजारबाट सेयर कसरी खरिदबिक्री गर्ने भन्ने बारेमा जानकारि गराएको थिए भने आज सेयर शिक्षा भाग चारमा अक्सन सेयर के हो यो सेयरमा कसरी गर्ने लगानी भन्ने बारेमा जानकारी दिनुका साथै हकप्रद सेयर र बोनस सेयरको बारेमा पनि जानकारी दिने कोशिश गरेको छु ।
अक्सन सेयर के हो ? यो सेयरमा कसरी गर्ने लगानी ?
प्रायः हिजो आज सेयर बजारमा धेरै नेपाली जनताको चासो हवात्तै बढेको छ । सेयरमा लगानी गर्ने प्रवृति बढेसगै अक्सन सेयरमा पनि धेरै लगानी कर्ताहरुको रुचि र चासो बढेको छ । अक्सन सेयरमा लगानी गर्नु भन्दा अगाडि अक्सन  सेयरको बारेमा बुझने होकि ?
       कम्पनीले निष्कासन गरेको हकप्रद सेयर विविध कारणले सबै बिक्री हुँदैन बिक्री नभएको हकप्रद सेयर वा अन्य सेयर पुन बिक्री गर्नको लागि सम्बन्धित संस्थाहरुले बोलकबोल आव्हान गर्दछ्न । यसरी कम्पनीले बिक्री नभएको सेयर पुन बिक्री गर्नका लागि बोलकबोल मार्फत बिक्री गर्ने सेयरलाई अक्सन सेयर भनिन्छ । हिजो आज धेरै कम्पनीले चुक्ता पुँजी पुर्याउन अत्यधिक मात्रामा  हकप्रद सेयर निष्कासन गरेका र उक्त हकप्रद सेयर विविध कारणले पुरै बिक्री नभएर बोलकबोल मार्फत बिक्री गर्ने परिपाटी छ ।  लगानीकर्ताहरुले अक्सनमा राखेका सेयरको खरिद गर्दा आवश्यक कागजातको आपूर्ति नगर्दा आवेदन खारेज भइरहेको पनि हुन्छ । अक्सन सेयर खरिद गर्नको लागि आवश्यक कागजात आवेदन साथ पेस गर्नु पर्दछ । प्रमोटर अक्सन सेयरको लागि आम्दानी को श्रोत, टयाक्स क्लियरिन्स प्रमाणपत्र, कालो सुचीमा नपरेको प्रमाणपत्र र Good for Payment चेक जस्ता कागजात आवश्यक पर्दछ्न भने साधारण अक्सन सेयरमा आवेदन गर्नको लागि Good for Payment चेक मात्र आवेदन फारम साथ बुझाउदा हुन्छ ।

कसरी गर्ने अक्सन सेयरमा आवेदन ?

प्राय अक्सन शेयर खरिद गर्न आवेदन फारम कम्पनीले नियुक्ति गरेको इस्यु म्यानेजरको कार्यालयबाट प्राप्त गर्न सकिन्छ । प्रत्येक फारमको रु १०० शुल्क लाग्दछ । कम्पनीले उल्लेख गरेका सम्पूर्ण कागजातहरु आवेदनसंग संलग्न गर्नु पर्ने हुन्छ । खरिद गर्न चाहेको शेयरको कुल रकम बापत निवेदकले उल्लेखित बैंकको खातामा रकम जम्मा गरिदिनु पर्ने हुन्छ अथवा फारम संगै गुड फर पेमेन्ट चेक बुझाउनु पर्ने हुन्छ ।
लगानी कर्ताले आफुले तिर्न चाहेको मुल्य तोकेर आवेदन दिन सक्छन । लगानी कर्ताले आफुले चाहेको मुल्यमा आवेदन दिन सकिने भएतापनी अहिले को अवस्थामा बजार मुल्यकै आसपासमा रहेर आवेदन दिनेहरूले मात्र अक्सन सेयर पाएको अवस्था देखिन्छ तर सबै कम्पनीमा यस्तो हुदैन कतिपय कम्पनी को अक्सन सेयर बिक्री नभएर पुन अक्सन गरेको अवस्था पनि  छ भने कतिपय कम्पनी को अक्सन सेयर बजार मुल्य भन्दा पनि बढिमा बोलकबोल भएको अवस्था पनि छ । कम्पनीको वित्तीय अवस्था र दोस्रो बजार को ट्रेन्ड लाई विश्लेषण गरेर मात्र अक्सन सेयरमा बोलकबोल गर्दा लगानी कर्तालाई फाइदा हुने देखिन्छ ।

बोलकबोलमा कसरी छानिन्छ आवेदन ?
बोलकबोलमा आवेदन छनोट गर्ने विभिन्न तरिका हुन्छन कतिपय बोलकबोलमा पहिले उच्च मुल्य तिर्नेबाट क्रमश त्यसपछिको कमका लागि सेयर छुटाउने गरिन्छ । यसरी छुटयाउदै जाँदा जुन मुल्यमा पुग्दा बिक्री गरिने पुरै सेयर सकिन्छ त्यही नै बिक्री मुल्य तय हुन्छ । अधिकतम मुल्यका लागी मागिएको परिमाण देखी कट अफ रेटर सम्म आईपुग्दा त्यसपछि बिक्रीका लागि सेयर बाँकी नरहने हुँदा त्यसपछि को आवेदन स्वत रद्ध हुन्छ । नेपाल को परिवेशमा भने बोलकबोलमा सेयर मुल्य निर्धारण गर्दा यसभन्दा केही फरक तरिका अपनाइन्छ । यहाँ बोलकबोलमा पहिला उच्च मुल्य तिर्नेबाट क्रमश त्यसपछि कमका लागि सेयर छुट्याउदै गइन्छ । यसरी सेयर छुटयाउदै जाँदा जुन मुल्यमा पुग्दा बिक्री गरिने पुरै सेयर सकिन्छ त्यसलाई कट अफ रेट भनिन्छ ।
बोलकबोलका शेयरहरु प्राय छोटो समयका लागि मात्रै बिक्रिका लागि खुल्ला गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मुल्य बोलि लगाउने लगानीकर्तालाइ नै माग गरे बमोजिमको शेयर दिईन्छ । यदि दुई अथवा बढी लगानीकर्ताले एउटै मूल्यको बोलि लगाएको खण्डमा मिलाएर शेयर बाँडफाँट गरिन्छ । शेयर नपरेका लगानीकर्ताहरुलाई सात दिन भित्र रकम फिर्ता गरिन्छ ।

अकस्न शेयर खरिदका फाईदा के कस्ता हुन्छन ?
# लगानीकर्ताले संस्था बाटनै सिधा सेयर खरिद गर्ने भएकाले ब्रोकर कमिसन र सेवोन कमिसन तिर्नु पर्दैन ।
# छिट्टै बजारमा लिस्ट हुन्छ ।
# बजार बाट एकैपटक ठुला-ठुला सेयर कित्ता खरिद गर्न निक्कै गाह्रो हुन्छ तर अक्सन सेयर सजिलै ठूलो भोल्युममा खरिद गर्न सकिन्छ ।
# लगानीकर्ताले आईपीओ र फपिओ मा  आवेदन भर्छन भने उक्त रकम धेरै दिन सम्म कम्पनीले होल्ड गरेर राखिदिन्छ । तर अक्सन सेयर भर्दा, बाँडफाँड हुदा र रकम फिर्ताको दिन को समय अवधिमा नै सम्पन्न हुन्छ आदि फाईदा हुने भएकाले अहिले सेयर  लगानी कर्ताहरुको ध्यान अक्सन सेयर तिर अधिक गएको पाइन्छ भने कतिपय लगानी कर्ताहरुले अक्सन सेयर बाट छोटो समयमा नाफा कमाउन  बजार मुल्य भन्दा बढी मुल्यमा बोलकबोल लगाएका हुन्छ्न ।

कति मुल्यमा अक्शनको सेयर खरिद गर्ने त ?
लगानीकर्ताहरुको सबै भन्दा ठुलो चासोको बिषय भनेको नै अक्सन सेयरमा कति मुल्य लगाउदा उचित होला भन्ने हुन्छ  । हिजो आज जति पनि अक्सन सेयर बिक्रिमा आइरहेका छन् । अहिलेको यहि ट्रेन्डलाइ नै राम्ररी हेर्ने हो भने प्राय लगानीकर्ता जसले कम्पनीको सोही दिनको बजार मुल्यको ९० देखि ९२ प्रतिशतले बोलि लगाएका छ्न तिनै लगानीकर्ताहरु प्रायः सफल भएका छन । तर कति मुल्य लगाउने भन्ने कुरा कम्पनी को वित्तीय अवस्था, बजार को अवस्था हेरेर हुन्छ । उचित मुल्य लगाउन सकेमा अक्सन सेयर बाट उचित नाफा लिन सकिन्छ ।

हकप्रद सेयर (Right Share) के हो ?
बिगतमा सर्वसाधारणमा साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भबिस्यमा पुन साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निष्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान सेयरवालाहरु लाई प्राप्त हुन्छ । यस प्रकार पुन निष्कासन गरिने सेयरमा विद्यमान सेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो सेयरलाई हकप्रद सेयर भनिन्छ ।
लगानीकर्ताले हकप्रद सेयर खरिद गर्न तोकिएको दरमा मुल्य तिर्नुपर्ने हुन्छ जस्तैः १:१ अर्थात १ को अनुपातमा १ हकप्रद सेयर जारी गर्ने भनिएमा सो कम्पनीको १०० कित्ता सेयर हुनेले कम्पनी बाट एक कित्ताको रु १०० रुपैया तिरेर थप १०० सेयर किन्न पाउँछ । हकप्रद सेयर जारी गर्दा अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ । जस्तो एक बराबर एकको अनुपातलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन भन्ने बुझिन्छ । हकप्रद सेयर सेयरधनिले किन्नै पर्छ भन्ने बाध्यता हुँदैन पुरै किन्न पनि सक्छ आंशिकरुपमा किन्न पनि सक्छ र नकिन्न पनि सक्छ । कम्पनीले हकहस्तान्तरणको व्यवस्था गरेमा आफुले किन्न पाउने हकप्रद सेयर अरु कसैलाई हस्तान्तरण गर्न पनि सक्छ । हकप्रद सेयर जारी गरिसके पछि कम्पनीको सेयर मुल्य समायोजन भइ मुल्य घटछ । हकप्रद सेयर को मुल्य समायोजन गर्ने सुत्र यस्तो हुन्छ ।
बुक क्लोज अघिको एक सेयरको मुल्य+एक सेयरमा प्राप्त हुने हकप्रद सेयरको मुल्य /१+एक सेयरमा प्राप्त हुने हकप्रद सेयरको अनुपात
जस्तैः एउटा कुनै कम्पनीको बुको क्लोज अगाडिको सेयर मुल्य १००० छ उक्त कम्पनीले १:१ हकप्रद सेयर जारी गर्ने भएमा बुक क्लोजपछी सेयरको मुल्य रु ५५० हुन्छ
हकप्रद सेयर जारी गर्दा बुक क्लोजपछिको मुल्य= रु १०००+ रु १००/१+१=रु ५५० हुन्छ ।
हकप्रद सेयर खरिद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान सेयरवालाहरु लाई स्वतन्त्रता हुन्छ । विद्यमान सेयरवालाहरुले आफुले पहिले खरिद गरेको सेयरको अनुपातमा हकप्रद सेयर खरिद गर्ने अधिकार प्राप्त गर्दछ्न ।

बोनस सेयर (Stock Dividend) भनेको के हो ?
कम्पनीको विद्यमान सेयरधनिहरुलाई बिना कुनै मुल्य वितरण गरिने सेयर लाई बोनस सेयर भनिन्छ । यस्तो सेयर कम्पनीको मुनाफा वा बाँडन योग्य मुनाफाको रकमबाट बाँडने गरिन्छ । बोनस सेयर सामान्यतया सेयरधनिले लिएको सेयर संख्याको आधारमा वितरण गरिन्छ । जस्तैः मानौ कुनै लगानी कर्ता संग कुनै कम्पनीको ३०० कित्ता सेयर छ कम्पनीले ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेपछि अब उक्त लगानी कर्ता संग ९० किता सेयर थपिएर ३९० कित्ता सेयर हुन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पुँजीकरण गर्नको लागि विद्यमान सेयरवालाहरुलाई यस प्रकार थप सेयर अर्थात बोनस सेयर प्रदान गरिन्छ वा चुक्ता पुँजी वृद्धि गरिदिन्छ । नेपालको कम्पनी ऎन २०६३ अनुसार बोनस सेयर भनेको " कम्पनीको मुनाफा बाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरि सेयरधनीहरुलाई अतिरिक्त सेयरको रूपमा जारी गरिएको सेयर सम्झनु पर्दछ र यो शब्दले बचत वा जगेडा कोषलाई पुँजीकरण गरि सेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाँउद "
 यसप्रकार बोनस सेयर भनेको कम्पनीको नाफा वा जगेडा कोषबाट विद्यमान सेयर लगानीकर्ताहरुलाई दिइने सेयर प्रतिफल हो ।
बोनस सेयर पछि को मुल्य समायोजन कसरी गर्ने ल हेर्नुहोस यो सुत्र:
बुक क्लोज भन्दा अघिल्लो दिनको सेयरको मुल्य / १+बोनस सेयर दर
जस्तैः कुनै कम्पनीको ५०० कित्ता सेयर छ उक्त कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेछ भने बुक क्लोजपछिको मुल्य निम्नअनुसार हुन्छ ।
रु ५००/१+०.३०=रु ३८५ हुन्छ ।
 यसरी बोनस सेयर लगानी कर्ताहरुले प्राप्त गर्दछ्न ।
लगानी कर्ताहरुले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दा मनन गर्नु पर्ने कुरा के छ भने उक्त कम्पनीले बिगत पाँच बर्षमा कतिको दरले बोनस सेयर दिदै आएको छ ? बोनस सेयरलाई जोड दिएको छ कि नगद लाभांश वा हकप्रद सेयरलाई जोड दिएको छ ? अध्यन गरेर बोनस सेयर बढी दिने कम्पनीको सेयर मा लगानी गर्नु बढी फाइदाकर हुन्छ । अर्को विचार पुर्याउनु पर्ने कुरा के छ भने लगानी कर्ताले कुनै पनि कम्पनीको सेयर किन्नु अगाडि उक्त कम्पनीको बुक क्लोज भएको छ कि छैन बुझनु पर्दछ बुक क्लोज भइ सकेको कम्पनीको सेयर खरिद गर्दा बोनस सेयर, नगद लाभांश र हकप्रद सेयर पाईदैन । बुक क्लोजको सूचना कम्पनीले निकाल्दछ । आदि कुराहरुलाई मनन गरेर उपयुक्त कम्पनीको सेयर मा लगानी गर्नुहोस बजार जति घटेपनि आत्तिनु पर्दैन ।
लेखक: "नेपाल पुँजीबजार लगानी कर्ता संघका "कोषाध्यक्ष हुन

Powered by Blogger.