इमान्दारीताको पुरस्कार
Raju Paudel's Blog |
एउटा सातवर्षे छोरा, कक्षामा ऊ सधैँ अव्वल दर्जामा उत्तीर्ण हुने गर्दथ्यो । यसपालि पनि उपल्लाे कक्षामा भर्ना हुन पायो ।
हिजो मात्रै तलब आएको, मैले उसलाई नयाँ स्कूल ड्रेस अनि जुत्ता किन्न बजार लिएर गएँ ।
`पोहोरकै जुत्ता मर्मत गरेर लगाउँदा एक वर्षलाई भइहाल्छ नि´ भन्दै जुत्ता किन्नै मानेन ।
आफ्ना लागि जुत्ता किन्नु सट्टा हजुरबुवाका लागि नयाँ चश्मा किनीदिन सुझायो । आफ्नो जुत्ता भन्दा हजुरबुवाको चश्मा बढी जरूरी ठानेर त्यसो भनेको होला भन्ठानेर मैले आफैंलाई सम्झाएँ ।
त्यसपछि पोशाक पाइने पसलमा लिएर गएँ । पसलबालाले उसको साइजको सेतो कमिज निकाल्यो, बाहिरबाटै हेर्दा एकदम फिट थियो । तर, पनि उसले अलि लामो कमिज देखाउन भन्यो । मैले यसो किन भनेको सोधेँ ।
`केहि छैन बाबा...कम्मरमा त मैले कमिज भित्रै हाल्नुपर्छ । अलिअलि ठूलो भएर केहि हुन्न । अलिकति ठूलो भयो भने यही कमिज मलाई अर्को वर्ष पनि काम लाग्छ । म अलिकति बढेँ भने पनि यसैले हुन्छ । पोहोरको कमिज पनि त नयाँ जस्तै त छ नि । तर, अलि छोटो भएर पो लगाउन नमिलेको´ भनेर मलाई नै उल्टो सम्झायो ।
म बोल्नै सकिनँ । घर आएपछि छोरो सँग सोधेँ -`तिमीलाई यति धेरै राम्रा कुराहरू कसले सिकाउँछन् बाबू..?´
ऊ बोल्यो-`बाबा म देखिरहन्छु, कहिले आमाले आफ्नो साडी नकिनेर, कहिले तपाईंले पुरानै जुत्ता मर्मत गरेर पनि मलाई नयाँ किताब-कापी अनि लुगाहरू किनिदिनु हुन्छ । टोल-छिमेकमा सबैजना भन्ने गर्दछन् हजुर एकदम इमान्दार मान्छे रे..! अनि हाम्रै छिमेकी राजुको बाबालाई सबैजना चोर, कुकुर, बेइमान, भ्रष्टाचारी यस्तै के-के जाति भन्ने गर्दछन् जबकी तपाईंहरू दुवैजना एउटै अफिसमा काम गर्नुहुन्छ !´
`गाउँलेहरूले तपाईंको प्रशंसा गर्दा मलाई एकदम आनन्द र खुशी लाग्दछ । आमा र हजुरबुवा पनि तपाईंको तारिफ गर्नुहुन्छ ।´
`बाबा, म चाहन्छु बरू मलाई कुनै नयाँ ड्रेस नकिनीदिनोस् नयाँ जुत्ता नपाइयोस् तर, तपाईंलाई कसैले चोर, बेइमान, भ्रष्टाचारी, कुकुर आदि नभनून्...म तपाईंको पाखुरी बन्न चाहन्छु कमजोरी होइन ।´
छोराको कुरा सुनेर म निरूत्तर भएँ । आज पहिलोपटक मेरो इमान्दारीताको पुरस्कार पाइरहेको थिएँ..!
जीवनकालभरमा धेरै पछि आँखामा खुशी, गर्व र आत्मसम्मानका आँसु बगे ।
(एक मित्रकाे अनुभव)
Post a Comment